love and learn

एडिएचडी (ADHD) समस्याका दश लक्षण

Mar 9th, 2021

Published by Nayapatrika KTM

Blog Image

हामीमध्ये धेरैले ‘एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडिएचडी)बारे सुनेको हुनुपर्छ । यो बाल्यकालमा धेरै देखिने समस्या हो । यसलाई एकै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, चुलबुले/चकचके व्यवहार देखाउने वा त्यस्तो किसिमको समस्या भनेर बुझ्दा हुन्छ । यो समस्या बालबालिकाहरूमा मात्रै होइन, युवाहरूमा पनि देखिने गर्दछ । यही समस्याका कारण धेरैको जीवन नराम्ररी प्रभावित हुने गरेको छ । युवाहरू यो समस्याबाट बढी प्रभावित हुनुको पछाडि धेरै कारण छन् । पहिलो कारण उनीहरूलाई समस्याको पहिचान गर्न नै मुस्किल हुने गर्छ । 

१.  बेचैन
युवाहरूलाई यो समस्या भएको छ भने कसरी थाहा पाउने ? त्यसको एउटा लक्षण हो, बेचैन हुनु । यो समस्या भएका युवाहरूले आफूमा बेचैनी बढेको महसुस गर्नेछन् ।

२. वंशाणुगत गुण
यदि साना बालबालिकामा यस्तो समस्या देखियो भने अभिभावकमा पनि यो समस्या भएको हुन सक्छ । परिवारमा कुनै पनि सदस्यलाई यो समस्या देखियो भने परिवारकै अन्य कुनै सदस्यमा पनि यो समस्या देखिने सम्भावना २५ देखि ३५ प्रतिशतसम्म हुने गर्छ ।

३. सम्बन्धमा समस्या
यो समस्या भएका व्यक्ति एकै ठाउँ एकैछिन पनि बसिरहन सक्दैनन् । उनीहरू अधीर हुन्छन् । यसले गर्दा उनीहरूको सम्बन्धमा पनि समस्या देखिन सक्छ । उदाहरणका लागि यो समस्या भएका व्यक्ति नयाँ सम्बन्धको उत्साहमा लामो समय रहन सक्दैनन् । यो समस्या भएका युवाहरूले फरक खालको व्यवहार देखाउने भएका कारण पनि सम्बन्ध लामो समय टिक्न मुस्किल हुने गर्छ ।

ध्यान केन्द्रित गर्न नसक्ने, चुलबुले/चकचके व्यवहार देखाउने वा त्यस्तो किसिमको समस्या देखिने एडिएचडी बाल्यकालमै धेरै देखिने गर्छ, यो समस्याले धेरै युवाको जीवन पनि नराम्ररी प्रभावित पार्ने गरेको देखिएको छ

४. धुम्रपान
एउटा अध्ययनले यो समस्या भएका युवाहरूले धेरै नै धुमपान गर्ने गरेको देखाएको छ । धेरै हदसम्म यो तथ्य मिल्दोजुल्दो पनि देखिएको छ । किनभने एडिएचडीको समस्या भएका व्यक्तिहरू अधीर हुन्छन् र उनीहरू आफूलाई व्यस्त राख्न पटकपटक धुमपान गर्ने गर्छन् । एडिएचडीको समस्या भएका व्यक्तिसँग मध्यपान र लागुऔषध सेवनको समस्या पनि हुने गरेको अध्ययनले देखाएको छ ।

५. विद्यालयमा समस्या
एडिएचडी जीवनभर रहन पनि सक्छ । त्यसैले यदि कुनै व्यक्तिले विद्यालयमा हुँदै यो समस्याको अनुभव गरेको छ भने उसका लागि यो समस्या युवा अवस्थामा पनि देखिन सक्छ । यो समस्याको अनुभव भएपछि धेरै उपायमार्फत यसको नियन्त्रण गर्न सकिन्छ । यदि, त्यसो नगर्ने हो भने अरू धेरै समस्या निम्त्याउन सक्छ ।

६. असक्षमता
यो समस्याले कुनै विषयमा ध्यान केन्द्रित गर्न दिँदैन । जसका कारण जिम्मेवारी पूरा गर्न असमर्थ हुन सक्छन् । कुनै जिम्मेवारी चाँडै र निर्धारित समयभित्र सक्नुपर्ने अवस्था हुन सक्छ । यस्तो समस्या भएका व्यक्तिहरू जिम्मेवारी पूरा गर्न नसक्ने हुन्छन् । 

७. दुर्घटनाको सम्भावना
एडिएचडी समस्या भएका व्यक्तिहरू जीवनमा केही रोमाञ्चकता चाहन्छन् । त्यसका लागि उनीहरू सवारीसाधन तीव्र गतिमा दौडाउनेदेखि अरू यस्तै खालको फरक व्यवहार गर्न रुचाउँछन् । कति अवस्थामा यो व्यवहार उनीहरूका लागि घातक बन्ने गर्छ । 

८. हराउने समस्या
यो समस्या भएका व्यक्तिहरू अस्थिर हुन्छन् । जसले गर्दा यस्ता समस्या भएका व्यक्तिहरू आफूसँग भएका कुनै पनि चिज हराउने सम्भावना उच्च हुने गरेको छ । उदाहरणका लागि पर्स, वालेट, चाबी, चस्मा आदि ।

९. अधैर्य
एडिएचडी भएका व्यक्तिहरूले कतिवेला कस्तो प्रतिक्रिया दिन्छन्, अनुमान गर्न मुस्किल हुने गर्छ । यस्ता समस्या भएका व्यक्तिहरू झट्ट छिटो रिसाउने हुन्छन् । सामान्य अवस्था वा सामान्य विषयमा पनि उनीहरू झट्ट रिसाउने गर्छन् । 

१०. एकाग्रता गुमाउनु
एडिएचडी समस्या भएका व्यक्तिमा देखिने मुख्य लक्षणमध्ये एक हो एकाग्रता गुमाउने । गर्नुपर्ने कामबाट ध्यान बाहिर जान्छ र अन्य विषयतर्फ लाग्ने गर्छन् । विशेषगरी जागिर गर्ने व्यक्तिहरूका लागि यो समस्या गम्भीर हुन सक्छ । किनभने बैठकमा वा सिनियर व्यक्तिले निर्देशन दिइरहेको अवस्थामा ध्यान केन्द्रित गर्न सक्दैनन् । यसले गर्दा उनीहरूले महत्वपूर्ण जानकारी छुटाएको हुन सक्छ । यसले करिअरमै ठूलो असर पर्न सक्छ । 

 



  Back to Blogs