love and learn

बालबालिका संरक्षणमा अभिभावकको भूमिका

Feb 14th, 2025

सुशीला शर्मा

Blog Image

अभिभावकको सहयोगमा बालबालिकाले आत्मविश्वास विकास गर्न सक्छन्। खतरालाई कसरी प्रतिकार्य गर्ने भन्ने सीप सिकेर त्यसको प्रतिवाद गर्न सक्छन् 

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा अंगीकार गरी बालबालिकाको उच्चतम हितको व्यवस्था गरिएको छ । साथै चुनौती, हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । के सबैले जन्मेर १८ वर्षसम्म बालबालिका भएर बाँच्न वा बालापन बिताउन पाएका छन् त ?

सन् १९९० तिरै नेपालले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो । नेपाल बाल अधिकार प्रत्याभूत गर्न कतिको सफल भयो ? यो अध्ययनको विषय भएको छ । बाल अधिकारभित्र बाल संरक्षण पनि पर्छ ।

बाल संरक्षणले बालबालिकामाथि हुन सक्ने सम्पूर्ण प्रकारका हानि नोक्सानीलाई बुझाउँछ । शारीरिक, भावनात्मक र यौनजन्य दुर्व्यवहार, हेला, बलजफ्ती तथा बाल विवाह, बाल श्रम, विभेद, धार्मिक दुर्व्यवहार तथा हानिकारक परम्परागत अभ्यासहरूमार्फत बालबालिका शोषणमा परिरहेका छन् ।

एकातिर सहर/बजारतिर अभिभावकले आफ्ना छोराछोरीलाई अत्यन्त सुरक्षाका साथ उनीहरूका झोला बोकिदिँदै विद्यालय पुर्‍याइरहेको, घरमा पनि खाना खुवाइरहेको, हर आवश्यकता पूरा गरिरहेको देख्न सकिन्छ भने अर्कातिर बालबालिकाहरू भोकभोकै खुम्चिएर, जाडो, गर्मीले पिल्सिएर भौतारिइरहेको भेटिन् ।

एकातिरका अभिभावकहरू आफ्ना छोराछोरीप्रति निकै सजग र संरक्षणात्मक भएर बालबालिकाले गर्नुपर्ने, सिक्नुपर्ने बेलासम्म पनि सिन्को भाँच्न दिइराखेका छैनन् भने अर्कातिर पढ्ने, लेख्ने, विचार गर्ने समयमा आफ्ना छोरीलाई बाक्लो जंगलभित्र एक हूल बाख्राको गोठालो पनि पठाइरहेछन् । जंगल आफैंमा पनि असुरक्षित ठाउँ हो । वन्यजन्तु, कीरा, फट्यांग्रा, विषालु सर्पको डर हुने नै भयो । त्यसमाथि कुत्सित मनसायका मान्छेबाट नै पनि दुर्व्यवहार/हिंसा हुन सक्छन् ।

धार्मिक मेलाहरू जहाँ कैयौं काटमार, भागदौड अनि सर्कसलगायतका खेलाहरू हुन्छन् । त्यस्ता स्थानमा पनि बालबालिकाहरू बिनारोकटोक भेला भइराखेका हुन्छन् । कतिपय भीडमा हराउँछन्, चेपिन्छन्, घाइते पनि हुन सक्छन् । तर धार्मिक आस्थाको नाममा अभिभावकले नै ती बालबालिकालाई उपस्थित गराइराखेका हुन्छन् । सर्कस आफैंमा पनि बालबालिका प्रयोग भएको जोखिमपूर्ण खेल हो । संरक्षणको कुरा त परै छोडौं बालबालिकाले विभिन्न सामाजिक मूल्य मान्यता, अभिभावकबाट के सिकिराखेका छन् भन्ने प्रश्न उठ्छ ।

बालश्रमको कुरा गरिन्छ । १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रम गर्न दिनु हुन्न भन्ने मान्यता छ । ठाउँ–ठाउँका धेरै होटलहरूमा साना १४ वर्षमुनिदेखिकै बालबालिकाले भाँडा माझ्नेदेखि लिएर सम्पूर्ण सरसफाइ, पानीका जार उचाल्नेलगायतका काम गरिरहेका देख्न सकिन्छ । एकाध परिवारले बालबालिकालाई आफ्नो घरमा राखेर काम लगाएबापत विद्यालय पनि पढाएकोबाहेक अन्य श्रमिक बालबालिकाहरूलाई आफूले गरेको काम बालश्रम हो भन्ने नै थाहा छैन ।

बालबालिकाको हितमा काम गर्न बाल क्लबकै गठन र सचेतनात्मक कार्यक्रमहरू गरेर कतिपय जिल्ला, नगरपालिकाहरूले आफ्नो क्षेत्रलाई बालमैत्री घोषणा पनि गरेका छन । त्यस्ता एकाध घोषणाहरू अन्य क्षेत्रका लागि कतिको उदाहरणीय र फलदायी भएका छन् त ? थुप्रै विद्यालयमा गठन भएका बाल क्लब पनि निष्क्रिय र बन्द पनि भइसकेका छन् । कहीँकतै एनजीओले पुनर्जागरण गराए पनि उक्त एनजीओको कार्यअवधि सकिएसँगै ती विद्यालय तथा वडा, नगरपालिकामा गठन भएका बाल क्लबहरू पनि निष्क्रिय हुने गर्छन् ।

समयअनुसार अभिभावकले आफ्ना बालबालिकालाई स्वतन्त्र पनि छोडिदिनुपर्छ । तर बालबालिकाले आफ्नो सही निर्णयहरू पहिल्याउन सक्दैनन् भनेर १८ वर्षको उमेरसम्म बालबालिका रहने भनिए पनि स्वतन्त्रता र उनीहरूको सर्वोत्तम हितका लागि केही घेराहरू पनि बनाउनुपर्ने हुन्छ । बालबालिकाहरूलाई खतराका बारेमा सिकाउनुपर्छ । जुन खतराका काम उनीहरूलाई गर्न हुन्न नै भन्नुपर्छ ।

जस्तो : खानी, इनार खन्ने, इँटाभट्टामा काम गर्ने, सैनिक, या द्वन्द्वमा भाग लिने, इन्टरनेटमा अश्लील भिडियो हेर्ने वा खेल्ने काम गर्नु हुन्न भनेर सिकाउनुपर्छ । यी यावत् कुराहरू बालबालिकाको हितविपरीत छन् । गह्रुँगो भारी उचाल्ने, एक्लै वनजंगलमा गाईबस्तु चराउन या घाँस/दाउरा गर्न जाने आदि गर्नु हुन्न भन्ने पनि सिकाउनुपर्छ ।

अभिभावकले बालबालिकाको हकबारे बुझिराख्नुपर्ने अरू पनि थुप्रै कुराहरू छन् । जसमध्ये बालबालिकालाई अनुशासित बन्न सहजीकरण गरिदिने पनि हो । अभिभावक आफैं सचेत हुने र अरूलाई पनि सचेत गराउनुपर्छ । बालबालिकालाई उनीहरूको अधिकारको विषयमा सिकाउनुपर्छ । अभिभावक आफैंले पहिले बाल दुर्व्यवहारको बारेमा सचेत हुँदै आफ्ना बालबालिकालाई पनि सिकाउनुपर्छ । दुर्व्यवहारका केही चिह्न पो बालबालिकामा देखिएका छन् कि जाँच्ने र दुर्व्यवहार भएमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्ने गर्नुपर्छ ।

यस्ता सुझावहरू सर्सर्ती साक्षर र सचेत अभिभावकका लागि मात्रै उपयुक्त लाग्न सक् । तर जो अभिभावक आफैंमा असचेत र अचेतनाबीच गरिबीको जीवनमा पिल्सिरहेका छन् उनीहरूलाई सचेत बनाउने जिम्मा भनेको विद्यालयका शिक्षक, राज्यका निकायहरू, अभियन्ताहरूको हो । बालबालिकाहरू अबोध हुन्छन् त्यसैले नै सही निर्णयमा पुग्न सक्दैनन् । यसकै कारण बाल विवाह रोकिएका छैनन् ।

एक बालिकाले शिशुलाई जन्म दिने र त्यही प्रजनन प्रक्रियाकै कारण बालिकाको उर्वर करियर बनाउने समय खेर गइरहेको छ । हाम्रो समाजमा अझैसम्म पनि यो प्र्रकिया निरन्तर नै छ । छोरीलाई खर्च गरेर पढाउन डराउने र दाइजोको निहुँमा अनेक खालका प्रताडना पनि छोरीकै टाउकोमा खनिने प्रथा पनि कायम नै छन् ।

बालबालिका आफैंले अभिभावकको सहयोगमा आत्मविश्वासको विकास गर्न सक्छन् । खतरालाई कसरी प्रतिकार्य गर्ने भन्ने सीप सिकेर त्यसको प्रतिवाद गर्न सक्छन् । विश्वासयोग्य मान्छेबारे जानेर आफ्ना समस्याहरू भन्न सक्छन् । अपरिचित व्यक्तिसँग कसरी प्रस्तुत हुने र उनीहरूबाट कसरी टाढै बस्ने भन्ने कुरा पनि जान्न सक्छन् ।

बालबालिकाले आफ्नो शरीरको कसरी हेरचाह गर्ने भन्ने ज्ञान लिएर पनि आफूलाई सुरक्षित राख्न सक्छन् । आफूलाई हैरानी दिने, मन नपर्ने कुरालाई हुन्न भनेर पनि आफ्नो सुरक्षामा आफैंलाई सहयोग गर्न सक्छन् । तर बालबालिकाको सुरक्षाको महत्त्वपूर्ण जिम्मेवारीचाहिँ परिवार, अभिभावक र राज्यको नै हो । बालबालिका सुरक्षित र स्वस्थ अनि आत्मविश्वासका साथ हुर्कन पाए भने भविष्यका युवापुस्ताले पक्कै पनि समाजको सकारात्मक विकासमा योगदान दिने नै छन् ।

लेखक शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।



  Back to Blogs